अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार, सरकारले अमेरिकालाइ पत्र पठायाे

नेपाल सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गरेकाे छ । एसपीपी अस्वीकार गर्ने गत असार ६ को मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले अमेरिकालाई पत्र पठाएको हो ।

सोमबार गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पत्र पठाइएको जानकारी दिएका हुन् ।

“अमेरिकी सेना र नेपाली सेनाको बीचमा सहयोग आदान–प्रदान कार्यक्रम हुन्छ कि भन्ने देशभरि एउटा चर्चाको प्रसंग थियो र सदनमा पनि यो गम्भीरतापूर्वक छलफल र बहसमा आएको थियो”, राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले भनेका छन्, “मन्त्रिपरिषद्ले नै यो स्टेट पार्टनरसीप प्रोग्रामलाई अगाडि बढाइने छैन भन्ने निर्णय गरेको छ । त्यो निर्णय हामीले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई पठाएका छौं ।”

अमेरिकी सैन्य कार्यक्रम एसपीपीमा सहभागिताका लागि तत्कालिन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सन् २०१५ मा पहिलो पटक अमेरिकी सरकारलाई पत्र लेखेका थिए ।

जुन पत्रअनुसार अमेरिकाले एसपीपीमा आबद्ध नगराएपछि सेनाले पुनः २०१७ मा अर्को पत्र लेखेको थियो । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँगको समन्वयमा सेनाले अमेरिकालाई पत्र लेखेको थियो ।

पत्र लेखेको झण्डै ४ वर्षपछि एपपीपीमा आबद्ध हुन सन् २०१९ मा मात्रै नेपालको निवेदनलाई अमेरिकाले स्वीकार गरेको थियो । पछिल्लो पटक अमेरिकी सेनाको एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिन नेपाल आएसँगै उक्त विषयमाथि चर्चा भएको थियो । तर, चौतर्फी विरोध भएपछि सरकारले औपचारिक रुपमै एसपीपी अस्वीकारको निर्णय गरेको हो ।

Leave a Comment