चालकलाई कुटपिट गरि कार लिएर भागेका भारतीय पक्राउ

आलिताल गाउँपालिका डडेल्धुरामा कार्यरत कर्मचारीलाई कुटपिट गरि कार लिएर भागेका भारतीय नागरिक पक्राउ परेका छन् । गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारीको कार लुटपाटमा संलग्न तीन जनालाई कैलालीको गोदावरी नगरपालिकाबाट प्रहरीले पक्राउ गरेकाे हो ।

जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार उनको कार गोदावरी नगरपालिका १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडक खण्डमा बेवारिस अवस्थामा भेटिएको बताइएकाे छ । त्यसपछि घटनामा संलग्न भारतीय नागरिकलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको थियाे ।

पक्राउ पर्नेमा हरियाणाका २१ वर्षे भगत सिंह, १७ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जेट हुन् । भण्डारीले चलाएको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको कारमा लिफ्ट मागेर चढेका तीनै जना भारतीय नागरिकले आज बिहान भण्डारीलाई बाँधेर कुटपिट र लुटपाट गरेका थिए ।

उनीहरुले चालकलाई फोटो खिच्ने बहानामा सडकदेखि ५० मिटर तल लगेर कुटपिट गरेका थिए । हातखुट्टा बाँधेर सडकबाट फालिएका उनको मोबाइल र पैसासहित कार लुटिएकाे थियाे । हाल भण्डारीको पद्यमा अस्पताल गोदावरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Comment